Saturday, 5 May 2012

कञ्चनपुरमा राजनीतिक दलहरु शक्ति प्रदर्शनको तयारीमा

विक्रम गिरी, महेन्द्रनगर,
 वैशाख २३ - गत वैशाख १५ गतेदेखि अखण्ड सुदूरपश्चिमको माग गर्दै थालिएको सुदूरपश्चिम वन्दको आज नवौं दिन हो। आठ दिनसम्म खासै सक्रिय नदेखिएका कञ्चनपुरका राजनीतिक दलहरु शनिबार शक्ति प्रदर्शनको तयारीका जुटेका छन्। सहजै रुपमा अखण्ड सुदूरपश्चिमको माग पूरा हुने छाँटकाँट नदेखिएपछि काँग्रेस एमाले लगायतका दलहरु अहिले दिउँसो शक्ति प्रदर्शनको तयारीमा व्यस्त छन्। शुरुवातका दुई दिन नागरिक समाजले अगुवाई गरेको आन्दोलनमा सरिक भएका दलहरु त्यसपछि मौन रहँदै आएका थिए। तर तिनका कार्यकर्ताहरु भने स्वफुर्त रुपमा आन्दोलन गरिरहे। 

भातृ संगठनको व्यापक दवावपछि कञ्चनपुरका राजनीतिक दलहरु आज शक्ति प्रदर्शनमा उत्रिन लागेका हुन। यसका लागि उनीहरुले व्यापक तयारी गरेका छन्। दलहरुले आ-आफ्ना भातृ संगठनका कार्यकर्ताहरुलाई र्‍यालीमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका छन्। केही कार्यकर्ताहरु शुक्रबार साँझ नै महेन्द्रनगर आइपुगेका छन्।

आजको प्रदर्शनपछि सुदूरपश्चिम एक राज्यको माग सहित भइरहेको आन्दोलनले के मोड लिन्छ त्यसै भन्न सकिने अवस्था छन्। तर जनजीवन दिनहुँ कष्टकर भने बन्दै गएको छ। गर्मी बढेको छ। झाडापखालका विरामी महाकाली अञ्चल अस्पताल भर्ना हुने क्रम बढ्दै गएको छ। तर अस्पतालका चिकित्सकहरु जीवनजलको समेत अभाव भएको बताउँछन। बजार बन्द छ। यातायात सेवा ठप्प छ। अखण्ड सुदूरपश्चिम र अखण्ड थरुहटको बन्द हड्ताल जारी छ।

दुवै थरी आन्दोलनकारी आ-आफ्नो माग सम्बोधन होला भनेर आश गरिरहेका आन्दोलनकारीहरु सरकारको निर्णयको पखाईमा छन्। तर मन्त्रीमण्डल बनाउने खिचलोमै रमाएको डाक्टर वावुराम भट्टराई नेतृत्वको सरकारले अझै केही दिन संघियताबारे निर्णय गर्ने सम्भावना देखिन्न। यस्तो अवस्थामा सुदूरपश्चिमका वासिन्दाले कष्टकर दिन अझै केही दिन झेल्नु पर्नेमा कुनै शंका भने छैन। 

No comments:

Post a Comment