सङ्कटकाल लगाएर संविधान सभाको म्याद थपे जनविद्रोह : उपेन्द्र यादव
काठमाडौं, वैशाख २७ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्कटकाल लगाएर संविधान सभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गरेका छन्। उनले भने- हामी त्यस्तो सहमति कुनै पनि हालतमा मान्दैनौं, यस्तो भएमा जनविद्रोहमा जान्छौं | बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा यादवले त्यसलाई आफ्नो दलले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए। 'कङ्ग्रेस, माओवादी र एमाले तीन प्रमुख दलले त्यो गोप्य सहमति गरेका छन्'- उनले थपे। जेठ १४ मा संविधान नआए मधेसका साथै देशैभरि जनविद्रोह हुने दाबी पनि उनले गरे।
बृहत् मधेसी मोर्चाले आन्दोलन अघि बढाएको र त्यस क्रममा जेठ २, ५ र ६ गते मधेस बन्द राखिने पनि उनले बताए। वर्तमान सरकारमा आफ्नो दल कुनै हालतमा नजाने उनले बताए। 'यो बाबुरामजीको बहुमतको सरकार हो, राष्ट्रिय सहमतिको सरकार होइन,' उनले भने- मधेसमा अब तीन दलको मतियार बनेको मधेसी मोर्चाका विरुद्ध पनि आन्दोलन हुन्छ, मधेसलाई भजाएर सत्तामा बस्नेलाई अब हामी छाड्दैनौं।
साथै उनले संविधान नबन्नुको मुख्य दोषी सभामुख पनि भएको आरोपसमेत लगाए। 'संविधान सभाको बैठक नै नबोलाई संविधान सभालाई निस्तेज पार्ने गैरजिम्मेवार काम सभामुखबाट भयो', उनले भने- त्यसको जिम्मेवारी उनैले लिनुपर्छ। यादवले संविधान सभा तीन दलका ठूला नेताहरुको कठपुतली भएको आरोप लगाउँदै संविधान सभा र तीन दल मिली संविधान बनाउन नचाहेको पनि बताए।
यादवले संविधान निर्माणका विषयमा संविधान सभाको बैठक सभामुखले नबोलाउने, संवैधानिक समितिका सभापतिले पनि बैठक नबोलाउने गरेकाले ठूला तीन दलका नेताहरुले कुरा मिलिसकेको छ भनेर देश, दुनिया र सञ्चार माध्यमलाई पनि झुक्याएको आरोपसमेत लगाए।
No comments:
Post a Comment