Monday 21 May 2012

कालिमाटीमा ८ सय टन तरकारी कुहियो

टमाटर, काउली बन्दाकोभी, खुर्सानी कुहिए
काठमाडौं, जेठ ८-आदिवासी जनजाति सङ्घर्ष समितिले आह्वान गरेको तीनदिने बन्दका कारण फलफूल तथा तरकारी भण्डारण हुने कालिमाटीमा सयौँ मेट्रिक टन तरकारी कुहिएको छ। उपभोक्ताले सहजरूपमा उपभोग गर्न पनि पाएका छैनन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य एवम् व्यवसायी भगवानचन्द्र उप्रेतीले बन्दका क्रममा हिजो र आज गरी करिब आठ सय मेट्रिक टन तरकारी कुहिएको जानकारी दिए।
साँझ बन्द खुल्दा तरकारी खरिद हुने भए पनि बिहान बन्द हुँदा उपभोग्य बजार र उपभोक्तासम्म पुर्‍याउन नसकिएकाले कालिमाटीमै सबै तरकारी थुप्रिएर कुहिएको बताउँदै उनले भने-'एम्बुलेन्स, दूधलगायतका साधनलाई जस्तै तरकारीलाई पनि अत्यावश्यक वस्तुको रूपमा लिई अवरोध नगर्न आन्दोलनरत पक्षसँग आग्रह गर्दछु।'
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बन्दका पहिलो दिन हिजो सात सय मेट्रिक टन तरकारी भित्रिएकोमा चार सय टन बिग्रिएको छ भने आज साढे छ सय मेट्रिक टन भित्रिएकोमा झन्डै चारसय मेट्रिक टन बिग्रिएको छ। खासगरी टमाटर, काउली बन्दाकोभी, खुर्सानीलगायतका तरकारी कुहिएको छ।
यसैबीच उपभोक्ता हित संरक्षण मञ्चले लगातारको बन्दका कारण किसान र उपभोक्ताले मार खेप्नुपरेको जनाएको छ।

No comments:

Post a Comment