जतिबेला मलाई यो लेख लेख्ने भाव जाग्यो, मैले तत्कालै अनुभूत गरेँ कि म यो लेख कलममा मसीको सट्टा आँसु भरेर लेख्दै छु । श्रमिक आन्दोलनका दिन मैले सुन्नु र पढ्नुपरेको एउटी श्रमजीवी अभिनेत्रीको मृत्यु । योभन्दा दुःखद संयोग अरू के हुन सक्छ नाट्य श्रमिकहरूका लागि ? यो दशककी अत्यन्त प्रतिभाशाली अभिनेत्री रञ्जु झाको मृत्यु... बम विस्फोटमा ।
जनकपुरमा एउटा संस्था छ- मिथिला नाट्य परिषद् जसलाई धेरैले छोटकरीमा मिनाप भनेर सम्बोधन गर्छन् । त्यसमा आबद्ध थुप्रै लेखक र कलाकार छन् । त्यसमा संलग्न लेखक र कलाकारहरूले विभिन्न कालखण्डमा प्रस्तुत गरेका सिर्जनाबाट यो देशको नाट्यकर्म धनी हुनपुगेको छ । यी नामको योगदान नेपालको नाट्यकर्मको इतिहासबाट हटाएर हेर्ने हो भने त्यो इतिहास अपूर्ण हुन्छ र त्यो अपूर्णताले भाषा र संस्कृतिका क्षेत्रमा क्षति पुर्याउँछ । यसरी मिनापमार्फत योगदान दिनेहरूको सूची लामो बन्न सक्छ, तर त्यसमध्येको एउटा उल्लेखनीय नाम हो- रञ्जु झा ।
कुनै दिन प्रज्ञा-प्रतिष्ठानको प्रेक्षालयमा देशभरिका रंगकर्मीहरू उपस्थित हुन्थँे, नाटक महोत्सव मनाउनका लागि । ती दिनहरूको सम्झना गर्दा प्राज्ञ अशेष मल्ललाई सम्झनैपर्ने हुन्छ । मैले पनि प्रज्ञा-प्रतिष्ठानमा मेरो संलग्नता रहुन्जेल प्राज्ञ अशेष मल्लकै क्रियाकलापहरूलाई निरन्तरता दिने प्रयास गरेँ । त्यसैताका आयोजित नाटक महोत्सवमा मैले रञ्जु झालाई भेटेको हुँ । नाटक महोत्सवको एउटा अतुलनीय उपलब्धि मेरा लागि के हुनगएको थियो भने मैले त्यस अवसरको प्रतिफलका रूपमा देशभरिका प्रतिभाशाली कलाकारहरूलाई चिन्ने अवसर पाएँ । तीमध्ये एक थिइन् रञ्जु, जोभित्र मैले एउटा उर्वर र स्पष्ट कलाकारिताको प्रबल शक्ति भेटेँ । त्यो वर्ष उनी त्यो महोत्सवको सर्वाेत्कृष्ट अभिनेत्री पनि घोषित भइन् । म रञ्जुको अभिनय कलाबाट यति प्रभावित भएको थिएँ कि मैले माता सीतालाई मनमनै आभार व्यक्त गरेको थिएँ, एउटी प्रतिभाशाली कलाकारलाई आफ्नो आँगनमा जन्म दिएकामा । तर रञ्जु झा त्यही दिन दिवंगत भइन्, जुन दिन सीता जन्मजयन्ती थियो । माता सीताले यहाँनेर पनि अर्काे गुन लगाइन् रञ्जुलाई, यदि रञ्जु हातखुट्टा नचल्ने भएर बाँच्नुपरेको भए तिनले कसरी अभिनय गर्थिन् ? बोल्न नसक्ने भएर बाँच्नुपरेको भए कसरी संवाद बोल्थिन् ? सीताले रञ्जुलाई सपाङ्गै आफूभित्र समाहित गरिन् ।
एक दशक र आधा अथवा १५ वर्षयता रञ्जुको अभिनय यात्रा निरन्तर अगाडि बढ्दै गयो । उनी रेडियोमा सुनिइन्, चलचित्रमा देखिइन् । म उनको निखारिँदै गएको प्रतिभाको अध्ययन गर्ने विद्यार्थी भएको थिएँ । पोहोर साल आजकै दिन अर्थात् १ मे २०११ को दिन अमेरिकामा मैले जब मसानको पटकथा लेख्न सुरु गरेँ, मेरो मनमा अनेकौं नेपाली नारीहरूको चित्र सल्बलाउन थाल्यो । सामाजिक संरचनाभित्रका कुप्रथाहरूविरुद्ध आवाज उठाउने महिलाहरूको । ती नारी पात्रहरूको जसले जातीय उत्पीडनविरुद्ध आवाज उठाए, धार्मिक अन्धविश्वासको विरोधमा आवाज उठाए, पुरुष दमनका विरोधमा आवाज उठाए । मसानको केन्द्रीय नारी पात्र पनि त्यसैअनुरूप भएकीले मैले यथार्थ जीवनमै यस्तो भूमिका खेलेका नेपाली नारीहरूलाई सम्भिmएँ । त्यसमध्ये एउटी थिइन्- रञ्जु झा । कसरी तिनले अभिनय क्षेत्रमा ओर्लिने आँट गरिन् र सामाजिक अन्यायको विरोधमा बोलिरहिन्, नाट्य धरातलका अनेक मञ्चहरूमा । एक प्रकारले मसान नाटकको चलचित्र पटकथा लेखनमा मलाई उनी प्रेरणा भएर उदाइन् । यो कुरा कुनै दिन मेरो मित्र तत्कालीन मिनापका अध्यक्ष वरिष्ठ रंगकर्मी सुनील मिश्रलाई भनुँला भन्ने सोच्दै थिएँ, अवसर मिलेको थिएन । तर आजै अखबारमा तिनै सुनील मिश्रलाई रञ्जुको मृत्युको खबरले भावविह्वल भएको तस्बिरमा देखेँ । करिब ४ वर्षजति अगाडि कुनै नाटक मेलामा रञ्जुसँग भेट भएको थियो । मेरो उनीसँगको त्यो अन्तिम भेट हुन पुग्यो । त्यतिबेला रञ्जुले मसँग उनका छोराहरूका बारेमा कुरा गरेकी थिइन् । मैले अखबारको तस्बिरमा उनका छोरा रुँदै गरेको पनि देखेँ, दुर्भाग्य ।
अन्तरहृदयका तरंगहरूलाई हाउभाउ र कटाक्षका साथ उपयुक्त स्वरलहरमा मिसाएर अभिव्यक्त गर्ने कलालाई मैले अभिनय कला भनेर बुझ्ने गरेको छु । जसले यो सीपलाई प्रदर्शन गर्ने क्षमता राख्छ, ऊ मेरा लागि उत्कृष्ट कलाकार हो । रञ्जुमा त्यो सीप थियो । त्यसैले म रञ्जु झालाई उत्कृष्ट कलाकार मान्छु । नाट्यकर्मका विभिन्न मञ्चहरूमा देखिएका यस कालखण्डका उत्कृष्ट कलाकारहरूमध्ये एक थिइन्, रञ्जु झा ।
जुनसुकै राजनीतिक व्यवस्थाअन्तर्गत कलाको उत्थानका लागि भनेर गठन भएका निकायहरूमा मिनापजस्ता संस्थाहरू र त्यसका प्रतिभाशाली कलाकारहरूको भूमिका न्यून नै रहिरह्यो । उपयुक्त किसिमका अवसरहरू उपलब्ध गराइएको भए त्यसका जुझारु र प्रतिभावान् व्यक्तित्वबारे धेरै जानकारी प्राप्त हुँदो हो । हालै गठन भएको संगीत नाट्य प्रज्ञा-प्रतिष्ठान पनि यो आलोचनाबाट मुक्त रहन सकेन । मोफसलमा यस्ता थुप्रै प्रतिभाहरू छन्, जसलाई समाजले चिन्न सकेको छैन । अथवा चिनाउन सकिएको छैन । त्यस्तै प्रकारको उपलब्धि बोकेको व्यक्तित्व हो, रञ्जु झा ।
मैले चिनेकामध्ये दुईजना मंगलादेवी सिंह र शैलजा आचार्यको निधनले राजनीतिक क्षेत्रलाई मर्माहत तुल्यायो होला भन्ने मलाई लागेको छ । सांस्कृतिक क्षेत्रलाई रञ्जु झाको मृत्युले ठूलो क्षति पुर्याएको छ । हुन त कर्मको आधारशिलामा बाँच्नेहरू कहिल्यै पनि मर्दैनन् भन्छन्, त्यसैले मलाई लाग्छ, रञ्जु झा जिउँदै छिन् । साभार : इ–कान्तिपुर
No comments:
Post a Comment